फागुन २६, काठमाडौं ।हङकङविरुद्धको पहिलो मैत्रीपूर्ण टी-२० खेलमा नेपाल ७३ रनले पराजित भएको छ ।
घरेलु मैदानमा हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउदै अलआउट भयो। नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
यस अघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले सबै विकेट गुमाएर २१२ रन बनाएको थियो। बाबर हायातले विष्फोटक ब्याटिङ गर्दै शतकीय इनिङ खेलेपछि हङकङले नेपाललाई विशाल लक्ष्य प्रस्तुत गरेको थियो। हायातले ४९ बलमा १३ छक्का र ३ चौका मद्दतमा ११० रन बनाएका थिए ।
हङकङका अंशुमन रथले ३९, मार्टिन कोट्जीले ३१ रन, ऐजज खानले २१ रन बनाएका थिए । कप्तान निजाकत खान, जेम्स जोन एटकिन्सन र यासिम मुर्तजा भने शूल्य रनमै आउट भएका थिए।
नेपालका आकाश चन्दले तीन तथा आरिफ शेख, प्रतिश जिसी र राशिद खानले एक/एक विकेट लिएका थिए ।