फागुन २७, काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार उठाउने भएको छ।आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार उठाउने निर्णय गरेको पार्टी महासचिव देव गुरुङले जानकारी दिए।
नारायण दाहाल ०७८ मा राष्ट्रिय सभा सदस्य मनोनित भएका थिए।दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ समेत हुन्। राष्ट्रिय सभाको अध्यक्षमा दाहालसँगै अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्याल र झक्कु सुवेदी आकांक्षी थिए। यद्यपि पार्टीले भने राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सांसद रहेका उनै दाहाललाई उमेदवार बनाउने निर्णय गरेको हो।
उता विपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा सांसद युवराज शर्मालाई उठाउने निर्णय गरेको छ। यस अघि कृष्ण प्रसाद सिटौलाको नाम चर्चामा आएपनि फागुन २९ गते तोकिएको उक्त निर्वाचनमा भने आधिकारिक उमेदवारको रुपमा शर्मा रहेका हुन।