चैत १२, काठमाडौं । चलचित्र अभिनेत्री कंगना रनौट हिमाचल प्रदेशको मण्डी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीको उम्मेदवार बन्ने भएकी छन् ।
आइतबार साझ भाजपाले उम्मेदवारहरूको पाचौसूची जारी गरेको छ । जसमा कंगनालाई मण्डीबाट टिकट दिइएको हो। यसपटक कंगना भाजपाको टिकटमा चुनाव लड्ने अनुमान गरिएको थियो । कंगनाले एक दिन अगाडि मात्र चुनाव लड्ने संकेत दिएकी थिइन् ।
हिमांचल प्रदेशको कांगडास्थित बगलामुखी मन्दिरको दर्शन गर्न गएकी कंगनाले पत्रकारको प्रश्नको जवाफमा भनेकी थिइन्, “माताको कृपा रह्यो भने मण्डी संसदीय सिटबाट अवश्य चुनाव लड्छु ।”
टिकट पाएपछि कंगनाले ट्वीट गर्दै भनिन्, “मेरो प्यारो भारत र भारतीय जनता, मैले सधै मेरो भारतीय जनता पार्टीलाई बिना सर्त समर्थन गरेको छु। आज भाजपाको राष्ट्रिय नेतृत्वले मलाई मेरो जन्मभूमि हिमांचल प्रदेशको मण्डीबाट लोकसभाको उम्मेदवार बनाएको छ ।” पार्टीमा औपचारिक रुपमा सामेल हुन पाउदा आफू सम्मानित र उत्साहित भएको उनले लेखेकी छन् ।
भाजपाले आइतवार लोकसभा चुनाव २०२४ का लागि उम्मेदवारहरूको पांचौ सूची घोषणा गर्यो। यो सूचीमा १ सय ११ सिटका उम्मेदवारको नाम समावेश छ । पाचौं सूचीमा बीजेपीले उत्तर प्रदेशका १३ सिटका लागि उम्मेदवारको नाम पनि घोषणा गरेको छ । लोकप्रिय धारावाहिक रामायणमा रामको भूमिका निभाएका अभिनेता अरुण गोविललाई भाजपाले मेरठबाट टिकट दिएको छ ।