काठमाडौं । सिरहा जिल्लाको औरही गाउँपालिका–५ मा रहेका दलित परिवारलाई ’विष्णु महायज्ञ’ आयोजनाको नाममा जबरजस्ती विस्थापित गरिएको छ । पाँच वर्षअघि केन्द्र सरकारको बजेटबाट जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गरिएका घरहरू भत्काएर डोम समुदायका दीपक मलिक, अनिता मलिक लगायत सात जनाको परिवारलाई गाउँबाट बाहिर सारिएको हो ।
प्रतिनिधिसभामा बिहीबारको बैठकमा सांसद अब्दुल खानले यो घटनाको विरोध गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले संविधानले सबै प्रकारका जातीय विभेद अन्त्य गर्ने प्रतिज्ञा गरे पनि व्यवहारमा दलित समुदायमाथि निरन्तर अन्याय भइरहेको बताए ।
सांसद खानका अनुसार ’विष्णु महायज्ञ’ का लागि पूजास्थलको व्यवस्थापन गर्न बजरंगी बाबा, गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव नेतृत्वको समूहले स्थानीय डोम परिवारलाई जबरजस्ती हटाएको हो । स्थानीय चौकीका प्रहरी र अन्य निकायहरू घटनामा मौन बसेको आरोप उनले लगाए ।
“हाम्रो देशमा दलित समुदायमाथि कहिले आक्रमण, कहिले हत्या, कहिले घर भत्काइने त कहिले पूजापाठको नाममा विस्थापन भइरहेछ । राज्यले यस्ता विभेदकारी घटनाहरू तुरुन्त रोक्नुपर्छ,“ सांसद खानले भने । विस्थापित परिवारलाई गाउँभन्दा ५०० मिटर टाढा बाँसको अस्थायी टहरोमा सारिएको छ ।
उनीहरू गाउँपालिकामा सरसफाइको काम गर्दै आएका थिए तर जागिर गुम्ने डरले उजुरी दिन नसकेको सांसद खानले बताए । सांसद खानले सरकारलाई तत्काल हस्तक्षेप गरी दलित परिवारको पुनर्वास सुनिश्चित गर्न तथा दोषीहरूमाथि कडा कारबाही गर्न माग गरेका छन्।