
चैत्र २२, रौतहट –
रौतहट उद्योग वाणिज्य सङ्घमा शुक्रबार तालाबन्दी गरिएको छ। सङ्घको वर्तमान कार्यसमितिको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै स्थानीय व्यवसायीहरूको समूहले सङ्घको मुख्य कार्यालयको गेटमा ताला लगाएका हुन्।
तालाबन्दी गर्ने व्यवसायीहरूमा राकेशकुमार झा, विकास विक्रम साह, कौशल साहलगायत रहेका छन्। उनीहरूले सङ्घको अध्यक्ष तथा महासचिवले संस्थालाई व्यक्तिगत स्वार्थका लागि गैरकानुनी ढंगले नियन्त्रणमा लिन खोजेको आरोप लगाएका छन्। गौर वडा नम्बर १ का व्यापारी कौशल साहले भने, “हामीले मर्यादित संस्था संरक्षण तथा हकहितका लागि बाध्य भएर तालाबन्दी गरेका हौं।”
व्यापारी विकास विक्रम साहले विशेष साधारणसभा तथा अधिवेशनको मिति तोकिएपछि विधानविपरीत नयाँ सदस्यता दर्ता गराइएको भन्दै त्यसको समाधान विधानअनुसार खोजिनुपर्ने माग राखे।
सङ्घको विशेष साधारणसभा तथा अधिवेशन चैत्र २३ गतेका लागि तय गरिएको थियो। तर, अध्यक्ष पण्डितप्रसाद जयसवालले सभा स्थगित भएको सूचना प्रकाशित गरेपछि महासचिव रविन्द्रनाथ गोपालीले भने सोही मितिमा अधिवेशन हुने जानकारी सार्वजनिक गरेका छन्।
चैत २६ गते कार्यसमितिको कार्यकाल समाप्त हुने भएकाले नयाँ नेतृत्व चयनका लागि समयमै साधारणसभा तथा अधिवेशन हुनुपर्ने माग महासचिव गोपालीले राखेका छन्।