
काठमाडौं, जेठ १६ । सगरमाथा दिवस, २०८२ को अवसर पारेर गोकर्णेश्वर नगरपालिकाले गोकर्णेश्वरकै प्रतिष्ठित कलाकार तथा सगरमाथा आरोही छिरिङ शेर्पालाई विशेष सम्मान प्रदान गरेको छ। गत वर्ष ११ मे २०२४ मा सगरमाथाको शिखर चुम्न सफल भएकी छिरिङले गोकर्णेश्वर नगर र समग्र राष्ट्रको गौरव बढाएकी थिइन् ।
छिरिङ शेर्पा पर्वतारोहणसँगै कला, समाजसेवा र प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित छिन्। उनले नृत्य, मोडलिङ र अभिनयजस्ता कलाका माध्यमबाट समाजमा सकारात्मक सन्देश फैलाउँदै आइरहेकी छन्। उनको बहुआयामिक योगदान, विशेष गरी महिला सशक्तिकरणमा पुर्याएको प्रेरणादायी भूमिकाको कदर गर्दै नगरपालिकाले सार्वजनिक रूपमा यो सम्मान प्रदान गरेको हो।
गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख, उपप्रमुख तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा आयोजित कार्यक्रममा स्थानीय युवा र महिलाहरूले छिरिङको संघर्ष र सफलताका कथाहरूबाट ठूलो प्रेरणा पाएको जनाइएको छ। कार्यक्रममा बोल्दै वक्ताहरूले छिरिङ जस्ता व्यक्तित्वहरूको सम्मानले युवाहरूलाई आफ्नो सपना पछ्याउन थप हौसला मिल्ने विश्वास व्यक्त गरेका थिए ।
यस सम्मानले छिरिङ शेर्पाको पर्वतारोहणको अद्वितीय सफलता र कला क्षेत्रमा उनको निरन्तर योगदान दुवैको कदर गरेको छ, जसले आगामी पुस्तालाई पनि उत्साहित गर्ने अपेक्षा गरिएको छ।


