
काठमाडौँ- नेपाल जापानमा आयोजना हुने आसन्न एसियन गेम्सको पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।
मलेसियामा जारी छनोट प्रतियोगिता अन्तर्गत मंगलबार घरेलु टोली मलेसियाले चीनलाई ९ विकेटले पराजित गरेपछि नेपालले एसियन गेम्समा स्थान सुरक्षित गरेको हो । चीनमाथिको जितसँगै मलेसिया पनि प्रतियोगिताका लागि छनोट भएको छ । लगातार दोस्रो हार खेपेको चीन भने छनोट दौडबाट बाहिरिएको छ ।
मंगलबारको खेलमा चीनले दिएको ८५ रनको सामान्य लक्ष्य मलेसियाले ७.५ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८४ रन मात्र बनाउन सकेको थियो ।
नेपालले आफ्नो पहिलो खेलमा चीनलाई २२१ रनको विशाल अन्तरले हराएको थियो । प्रतियोगिताको नियमअनुसार समूहका शीर्ष दुई टोली एसियन गेम्सका लागि छानिने प्रावधान छ । समूह ‘ए’ बाट नेपाल र मलेसिया छनोट भइसकेकाले अब बिहीबार हुने यी दुई टोलीबीचको खेलले समूह विजेताको टुंगो लगाउनेछ ।
यस्तै प्रतियोगिताको समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिंगापुर रहेका छन् ।