काठमाडौं । परम्परागत बादनमा महिला सहभागितालाई प्रोत्साहित गर्न असोज २४ गते राष्ट्रिय सभाा गृहमा महिलाहरुको गुँला बाजा बादन कार्यक्रम आयोजना हुने भएको छ । काठमाडौँ महानगरपालिका वडा नं. १८ ले ङत तुलाधर समिति गुंला बाजं उपसमितिको व्यवस्थापनमा ‘निक्वःगु मिसा गुंलाबाजं ब्वज्या’ आयोजना गर्ने लागेको हो । आज वडाले आयोजना गरेको पत्रकार साक्षात्कार कार्यक्रममा वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले, मौलिक परम्पराको संरक्षण र पुस्तान्तरणमा महिला सहभागिता बढाउन कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो । यो दोस्रो संस्करण हो ।
पहिलो संस्करणमा १२ वटा समूहको सहभागिता थियो । कार्यक्रममा वडाध्यक्ष महर्जनले भन्नुभयो, ‘हामीले परम्परागत बाजा गुरुहरुलाई सम्मान गरिरहेका छौँ । यसरी सम्मानित हुने गुरुहरुमा महिला हुनुहुन्न । हामी महिला गुरुहरुलाई सम्मान गर्न पाउने दिनको प्रतिक्षामा छौँ ।’ उहाँले भन्नुभयो, ‘हराएका, लोप हुने अवस्थामा पुगेका, प्रयोगमा कमी भएका, पुस्तान्तरण हुन नसकेका बादन परम्परालाई महानगरपालिबाट पुनर्जीवित गर्दैछौँ । येँयामा काठमाडौँका स्थानीयले बजाउने गरेको तर विगत २५ वर्षदेखि स्थानीयले बजाउने छोडेको म्वाःली बाजाको प्रशिक्षण दिएर यस वर्ष पुनःस्थापित गरेका छौँ । वडास्तरबाट सशक्तिरण, संरक्षण र संवर्धनका काम भइरहेका छन् ।’
कार्यक्रममार्फत नेवार समुदायको मौलिक सांस्कृतिक परम्परा तथा बाजा बजाउने संस्कृतिको संरक्षणसँगै पुस्तान्तरणमा महिलाको भूमिकालाई थप सशक्त बनाउने उद्देश्य राखिएको छ । महिलाले पनि परम्परागत बाजा बजाउन सक्छन् भन्ने सामाजिक सोच विकास गर्न तथा महिला र पुरुषबिच समान सहभागिताको वातावरण निर्माण गर्नमा कार्यक्रम केन्द्रित हुनेछ । गुँला बाजं संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष अमीरमान शाक्यले, गुँला बाजा बजाउने १७ वटा समूहमा थप भएर २५ वटा पुगेको बताउनुभयो ।
बाजा बजाउने महिलाहरुको संख्यामा भने उल्लेख्य वृद्धि हुन नसकेको बताउँदै शाक्यले, काठमाडौँ महानगरपालिकाबाट प्रदान भएको सहयोगबाट समुदाय स्तरमा बाजाको प्रवर्धन गर्न थालिएको बताउनुभयो । नेपालमा महिलाले बाजा बजाउने अभ्यास नयाँ नभए पनि विगतमा विभिन्न सामाजिक तथा सांस्कृतिक कारणले महिलाको सहभागिता सीमित थियो । वि. सं. २०५६ सालदेखि महिलाले समेत गुंलाबाजं बजाउने अभ्यास सुरु गरेका हुन् ।
गएको वर्ष साउन ३१ गते ‘न्हापांगु मिसा गुंलाबाजं व्वज्या ११४५’ आयोजना गरिएको थियो । उक्त कार्यक्रमबाट महिला बाजा कलाकारलाई थप प्रोत्साहन मिलेको र विभिन्न स्थानमा गुंलाबाजं बजाउने महिलाको सहभागिता बढ्दै गएको उपसमितिका संयोजक दिपकरत्न तुलाधरले जानकारी दिनुभयो । यस वर्षको कार्यक्रमलाई अझ वृहत बनाउँदै महिला बाजा कलाकारसँगै विभिन्न गुंलाबाजं समूह, सांस्कृतिक अभियन्ता, सरोकारवालाको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रममा विभिन्न परम्परागत बाजा तथा नेवारी सांस्कृतिक प्रस्तुति हुनेछ ।
पत्रकारहरुको प्रश्नको जवाफमा वडाध्यक्ष महर्जनले, बर्तमान समयका बारेमा चर्चा गर्दै समानता र समावेशिताको भएकाले महिलालाई सांस्कृतिक क्षेत्रमा पनि समान अवसर दिनुपर्नेमा जोड दिनुभयो । महिलाको सहभागितालाई नारामा मात्र सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्नुपर्ने तथा कला, प्रतिभा र क्षमतालाई उजागर गर्ने वातावरण बनाउनुपर्नेमा उहाँको जोड छ । गुंलाबाजंलाई नेवार समुदायको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण परम्पराका रूपमा लिइन्छ ।

