२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले गत असोजमा १५ औं महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ । उक्त महाधिवेशनमा सहभागी नभएका पूर्वसभापति शेरबहादुर देउवाको समूह भने समानान्तर महाधिवेशनको तयारीमा छ ।
पार्टीको संस्थापन पक्ष र देउवा समूह आ–आफ्नै ढंगले अघि बढिरहेका बेला १४औं महाधिवेशनमा देउवाका निकटतम प्रतिस्पर्धी रहेका डा. शेखर कोइराला भने दुवै पक्षका महाधिवेशन प्रक्रियामा सहभागी भएका छैनन् ।
दुवै पक्षबाट अलग रहेका कोइरालाले के गरिरहेका छन् ? कोइरालाको थप राजनीतिक भूमिका के हुन्छ भन्ने प्रश्न पनि उठेको छ ।
पार्टीभित्रको यो परिस्थितिमा कोइराला कुन पक्षमा उभिन्छन् वा दुवै पक्षलाई मिलाउन कस्तो भूमिका खेल्छन् भन्ने विषय अहिले कांग्रेस वृत्तमा चासोको विषय बनेको छ ।
तर, संस्थापन र देउवा समूहको महाधिवेशनमा सहभागी नभएका नेता कोइराला भने पार्टी एकताका लागि भन्दै देशव्यापी अभियान चलाउने आन्तरिक तयारीमा देखिएका छन् ।

