काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चिति बढेर ४१ खर्ब ६१ अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार २०८३ असोज मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ४१ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको हो ।
२०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति तीन महिनामा ६.८ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा गणना गर्दा पनि सञ्चिति ८.२ प्रतिशतले बढेर २७ अर्ब ३९ करोड डलर पुगेको छ । असार मसान्तमा यस्तो सञ्चिति २५ अर्ब ३१ करोड डलर रहेको थियो ।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको विदेशी मुद्रा सञ्चिति ६.४ प्रतिशतले बढेर ३६ खर्ब ९५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति ९.८ प्रतिशतले वृद्धि भई ४ खर्ब ६५ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १९.९ महिनाको वस्तु आयात र १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ ।
असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ६३ प्रतिशत, कुल आयातसँगको अनुपात १४३.७ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ४४.८ प्रतिशत पुगेको छ ।
यसैगरी, समीक्षा अवधिमा नेपालको चालु खाता २ खर्ब ७९ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत २ खर्ब ३८ अर्ब रुपैयाँ थियो । त्यस्तै, शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर बचत २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँ थियो ।
समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी पनि बढेको छ । तीन महिनामा ४ अर्ब १४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी १ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो ।
चालु खाता र शोधनान्तर दुवै बचतमा रहनु, विदेशी मुद्रा सञ्चिति बढ्नु तथा आयात धान्ने क्षमता विस्तार हुनुले नेपालको बाह्य क्षेत्रको अवस्था थप मजबुत बनेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

