
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ सोमबार विशेष समारोहका साथ सम्पन्न भएको छ । साउन २१ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको एक्स्पोमा एक लाखभन्दा बढी दर्शकहरूले अवलोकन गरेका थिए ।
सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी, स्थानीय जनप्रतिनिधि, उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, व्यवसायी, अटोमोबाइल क्षेत्रका अग्रज, कूटनीतिक नियोगका पदाधिकारी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
समापनमा अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो अपेक्षाभन्दा बढी सफल भएको उल्लेख गर्दै सबै प्रायोजक, साझेदार र सहभागीलाई धन्यवाद दिइन् । उनले यो एक्स्पोले नेपालको मोबिलिटी क्षेत्रमा नयाँ आयामको विकास गरेको अनुभव भएको बताइन् ।
कार्यकारी निर्देशक राजकुमार दुलालले पाँच दिनसम्म निरन्तर सिकाइका सत्र सञ्चालन गरेर क्षेत्रको समग्र विकासमा योगदान गरिएको जानकारी दिए । ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी उक्त एक्स्पोमा पहिलो दिन १५ हजार, दोस्रो दिन १३,५००, तेस्रो दिन १९,५००, चौथो दिन २१,५००, पाँचौ दिन २२,००० र छैठौँ दिन ७,८०० दर्शकको उपस्थिति रहेको नाइमा स्रोतले जनाएको छ ।


