काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले मलेसियाको क्वालालम्पुरमा सम्पन्न २५औँ मिलो इन्टरनेशनल ओपन च्याम्पियनसिप–२०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई १ स्वर्ण, ४ रजत र ४ कांस्यसहित कुल ९ पदक दिलाउने नेपाली कराते खेलाडीहरूलाई सम्मान गर्नुभएको छ ।
सम्मान कार्यक्रममा नेता खनालले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको गौरव र प्रतिष्ठा उच्च बनाउने सम्पूर्ण खेलाडीहरूको मेहनत, अनुशासन र समर्पणको प्रशंसा गर्दै हार्दिक बधाई व्यक्त गर्नुभयो । साथै आगामी दिनमा पनि यस्तै उत्कृष्ट प्रदर्शनमार्फत राष्ट्रको नाम अझ उज्ज्वल बनाउन सफलताको शुभकामना दिनुभयो ।
प्रतियोगितामा होम गुरुङले स्वर्ण पदक जित्नुभएको थियो । त्यसैगरी अनिश थापा, प्रजोल थापा, राजेश तामाङ र अभिन परियारले रजत पदक तथा महेन्द्र थारु, पिंकी चौधरी, सोहन सिन्जाली र इशान घिमिरेले कांस्य पदक जितेर नेपालको शिर अन्तर्राष्ट्रिय मञ्चमा उच्च बनाएका थिए ।
मलेसियामा सम्पन्न उक्त प्रतियोगितामा नेपाली खेलाडीहरूले गरेको उत्कृष्ट प्रदर्शनलाई नेपाली कराते इतिहासको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । सम्मान समारोहमा खेलाडीहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै खेल क्षेत्रको विकास, खेलाडीको हौसला अभिवृद्धि र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अझ सशक्त सहभागिताका लागि सबै पक्षको सहयोग आवश्यक रहेको धारणा पनि व्यक्त गरिएको थियो ।

