काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट–३२९२ अन्तर्गतको आधारभूत शिक्षा तथा साक्षरता समितिबीच शिक्षा तथा साक्षरताको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सामुदायिक तथा सार्वजनिक विद्यालयमा आधारभूत शिक्षा तथा साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले रोटरी क्लबहरूमार्फत सञ्चालन हुने विभिन्न शैक्षिक तथा पूर्वाधार विकास परियोजनामा वित्तीय सहयोग उपलब्ध गराउनेछ ।
सहकार्यअन्तर्गत सामुदायिक तथा सार्वजनिक विद्यालयमा शौचालय निर्माण तथा सुधार, खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी परियोजना सञ्चालन, कम्प्युटर ल्याब स्थापना लगायत विद्यार्थीको सिकाइ वातावरण तथा विद्यालयको शैक्षिक पूर्वाधार सुधारमा केन्द्रित कार्यक्रम सञ्चालन गरिने बैंकले जनाएको छ ।
बैंकका अनुसार यस्ता परियोजनाले विशेषगरी सामुदायिक तथा सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ वातावरण, स्वच्छता तथा डिजिटल प्रविधिमा पहुँच सुधार गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । बैंकले सामाजिक दायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक तथा मानवीय सहयोगसमेत गर्दै आएको जनाएको छ ।
यसै क्रममा बैंकले हालै भोटेकोसी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोगसमेत गरेको जनाएको छ । बैंक र रोटरीबीचको पछिल्लो सहकार्यले विद्यालयस्तरमा आधारभूत शिक्षा, स्वच्छता र डिजिटल पहुँच विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

