काठमाडौँ, भदौ १६
साबित्री बस्नेत (साबु)
काठमाडौँ महानगरपालिका वडा नं. २८ को सहयोग तथा लाइभ नेपाल नेटवर्क प्रा. लि. को आयोजनामा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि १० दिने अभिमुखीकरण तथा तालिम कार्यक्रम सुरु भएको छ।
पद्मोदय माध्यमिक विद्यालयमा आयोजित एक भव्य समारोहका बिच प्रमुख अतिथि काठमाडौँ महानगरपालिका वडा नं. २८ का वडा अध्यक्ष श्री भाइराम खड्गीले ब्यानर पढेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो। उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि वडा अध्यक्ष खड्गीले यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले सामुदायिक विद्यालयका भाइबहिनीहरूलाई माथि उकास्न र उनीहरूको स्तर उन्नति गर्न पुलको काम गर्ने बताउनुभयो। स्थानीय सरकारसँग मिलेर गरिने यस्ता कार्यक्रमहरू कोशढुङ्गा साबित हुने र यसबाट सबैलाई फाइदा पुग्ने उहाँको भनाइ थियो।

कार्यक्रमका विशिष्ट अतिथि तथा वडा नं. २८ का वडा सचिव कृष्ण सोतीले स्थानीय सरकार र विद्यालयको सहकार्यमा सञ्चालित यो कार्यक्रम अत्यन्तै सराहनीय रहेको भन्दै आगामी दिनहरूमा पनि वडाको तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै, पद्मोदय माविकी प्रधानाध्यापक डा. शर्मिला पोखरेलले आयोजक टिमलाई धन्यवाद ज्ञापन गर्दै यस कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै उनीहरूलाई व्यावहारिक र उपयोगी ज्ञान दिलाउन ठुलो मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो। विद्यालयकी सहायक प्रधानाध्यापक सुजना लामिछानेले पनि कार्यक्रमको प्रशंसा गर्दै विद्यार्थीहरूका लागि यो अवसर अत्यन्तै फलदायी र प्रभावकारी हुने बताउनुभयो।
समारोहमा राष्ट्रिय अभिभावक सङ्घ केन्द्रीय सचिवालय सदस्य गोविन्द भुसालले १० दिनसम्म विभिन्न विषयमा सञ्चालन हुने यो कार्यक्रम विद्यार्थीका लागि मात्र नभई अभिभावकहरूका लागि समेत उपलब्धिमूलक हुने बताउनुभयो।
सामुदायिक प्रहरी साझेदारी सदस्य (काठमाडौँ महानगरपालिका वडा नं. १५) सञ्जय धायकु श्रेष्ठले बालबालिकालाई कानुनी परामर्शसमेत समावेश गरी आयोजना गरिएको यो फरक किसिमको कार्यक्रमले विद्यार्थीहरूलाई नयाँ र व्यावहारिक कुरा सिक्न मद्दत पुग्ने बताउनुभयो।
कार्यक्रमको पहिलो दिन विद्यालय प्रशिक्षक तथा उत्प्रेरक/लेखक प्रबिम् बस्नेतले जलवायु परिवर्तनसम्बन्धी विशेष क्लास सञ्चालन गर्नुभयो। कक्षाका क्रममा हालै रसुवामा आएको बाढीको उदाहरण पेस गर्दै सहभागी विद्यार्थीहरूलाई जलवायु परिवर्तन र यसका असरहरूबारे सजग गराइएको थियो।
त्यस्तै, सामाजिक अभियन्ता तथा कुशल व्यवसायी गणेश रायले कार्यक्रममा बोल्दै विद्यार्थी स्वयं पनि यस्तो कार्यक्रममा सहभागी भई आत्मबल बढाउनुपर्ने र यसबाट धेरै फाइदा लिन सक्नुपर्ने बताउनुभयो। कुनै संस्थाले सिकाएर मात्र नहुने, आफूले पनि निरन्तरता दिनुपर्ने तथा धैर्य र अनुशासित भएमा सबै काम गर्न सकिने उहाँले उल्लेख गर्नुभयो। साथै, कार्यक्रम धेरै राम्रो भएको जानकारी गराउँदै विद्यार्थीहरूलाई १० दिनसम्म विभिन्न सीपमूलक र ज्ञानवर्धक कुरा सिक्न आग्रह गर्नुभयो।
लाइभ नेपाल नेटवर्क प्रा. लि. का अध्यक्ष एवं कार्यक्रमका सभापति पुष्कर राज पाण्डेयले संस्थाले विगतदेखि नै यस्ता सामाजिक तथा शैक्षिक काम गर्दै आएको जानकारी दिनुभयो। यसपटक १० दिनसम्म विभिन्न विषयमा तालिम दिएर विद्यार्थीहरूमा सचेतना फैलाउनुका साथै सीपमूलक बनाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो।
लाइभ नेपाल नेटवर्ककी निर्देशक, पत्रकार तथा सामाजिक अभियन्ता साबित्री बस्नेत (साबु) ले कुशलतापूर्वक सञ्चालन गर्नुभएको उक्त उद्घाटन समारोहमा विभिन्न निकायका प्रतिनिधि, शिक्षक, प्रशिक्षक, सञ्चारकर्मी, अभिभावक तथा विद्यालयका विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।

