बझाग । सुदूरपश्चिम प्रदेशको विकट भेग, बझाङको मस्टा गाउँपालिका वाड न ६ मा केही फरक दृश्य देखिन्छ—हातमा कोदालो, टाउकोमा गम्छा, खुट्टामा चप्पल, र छेउमै स्थानीय जनताको घुइँचो। त्यो भीडको अगाडि खटिएका छन् वडा अध्यक्ष शिवराज बोहरा—राजनीतिक नेताभन्दा बढी समाजसेवकको भूमिकामा।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट भारी मतले निर्वाचित भएका बोहरा अहिले ‘अध्यक्ष’ होइन, ‘साथी’ बन्ने अभ्यासमा छन्। जनताका बीचमा बसेर, उनीहरूको समस्यामा साथ दिँदै, उनी आफैं घाम-पानी नभनी श्रमदानमा होमिएका छन् ।
मस्टा गाउँपालिका आफैंमा भौगोलिक हिसाबले अत्यन्तै विकट मानिन्छ। बजेटले धान्न नसक्ने आवश्यकता, वर्षौंदेखिको राज्यको बेवास्ता र दुर्गमता बीच पनि अध्यक्ष बोहराले हात बाँधेर बस्ने पथ रोजेनन्। उनले भने, “प्रदेश केन्द्रको मुख ताकिरहनुभन्दा जनतासँग मिलेर आफैं बनाऔं हाम्रो गाउँ।”
विद्यालयको पर्खाल होस् वा खानेपानीको पाइपलाइन, खोलामा ढुंगाले बाँध बनाउने काम होस् वा बाटो छेकेर बसेको ढिस्को फाल्ने—शिवराज बोहरा अग्रपंक्तिमा देखिन्छन्। उनको यही कर्मठता र समाज प्रतिको समर्पणले गर्दा उनलाई स्थानीयहरूले ‘काम गर्ने नेता’ को रुपमा चिन्न थालेका छन्।
उनले भनेका छन्,
“राजनीति कुर्सीका लागि होइन, जनताको सेवा गर्ने माध्यम हो। म दिनरात नभनी खटिरहन्छु, यो ठाउँलाई परिवर्तन गर्न।”
आज उनले उठाएको कोदालो भविष्यमा परिवर्तनको आधार बन्नेछ। जनतासँगको हातेमालोले गाउँ बनाउने यो अभियान अरू वडाका लागि पनि प्रेरणा बनिरहेछ।

