
काठमाडौं । काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं फर्किएपछि सबै जनप्रतिनिधि र कर्मचारीले तलब पाएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा ३ महिनाभन्दा लामो समयदेखि रोएिको कर्मचारीको सबै तलब भुक्तानी भएको हो ।
करिब ३५ सय कर्मचारीसँगै महानगरका मेयर बालेन्द्र शाह (बालेन) देखि उपमेयर सुनिता डंगोल, वडाध्यक्ष र अन्य जनप्रनितिधिले समेत तलब पाएका छन् ।
महनगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार तलब भत्ताका नाममा ४१ करोड रुपैयाँ भुक्तनी भएको छ ।
‘महानगरमा मासिक रुपमा तलब भत्तासहितका लागि साढे १२ करोड रुपैयाँ हाराहारीमा भुक्तानी गर्ने गरिन्छ’, काफ्लेले खबरहबसँग भने, ‘त्यसमा केही कर्मचारीको पोशाक भत्ता र अतिरिक्त भुक्तानीसहित तीन महिनाको ४१ करोड रुपैयाँ हाराहारी भुक्तानी भएको छ ।’
तीन महिना १४ दिनपछि गत चैत २१ गते बिहीबार काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कर्मचारी र वडाध्यक्षसहितका जनप्रतिनिधिले नगरप्रहरीको अवरोध चिर्दै कार्यालय प्रवेश गराएका थिए ।