
काठमाडौं । पुरानो बसपार्कस्थित काठमाडौं टावर निर्माणका क्रममा भएको भनिएको भ्रष्टाचारबारे छानबिन थालेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महानगरसँग जवाफ मागेको दुई साता बितिसकेको छ ।
काठमाडौं टावरको विवादलाई लिएर गत चैत २९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक हप्ताभित्र जवाफ दिन भन्दै महानगरलाई पत्र पठाएको थियो ।
महानगरको सार्वजनिक निजी साझेदारी एकाईले उक्त पत्रबारे जवाफका लागि राय तयार गरी प्रशासनलाई विभागमा पठाइसकेको छ । तर प्रशासन विभागमै उक्त पत्र अड्किएको छ ।
महानगरको सार्वजनिक निजी साझेदारी एकाई प्रमुख नरेन्द्र विलास बज्राचार्यले खबरहबसँग अख्तियारले सोधेको जवाफ प्रशाशनलाई पठाइसकेको बताएका छन् ।
‘अख्तियारले सोधेको प्रश्नको जवाफसहितको पत्र प्रशाशन हुँदै आएको थियो’, बज्राचार्यले भने, ‘हामीले जवाफसहितको पत्र प्रशासनलाई पठाइसकेका छौँ ।’
उनले काठमाडौं टावर निर्माणमा देखिएको विवादबारे अख्तियारलाई सार्वजनिक निजी साझेदारी एकाईबाट जवाफ लेखे पनि प्रशासनबाट पठाए नपठाएको थाहा नभएको बताए ।


