असार २४, कञ्चनपुर । अबिरल बर्षाको कारण आइतबार बाढीमा डुबि ३ को मृत्यु र २ वेपत्ता भएका छन् । कृष्णपुर नगरपालिका वार्ड १ पहरिया कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर सात महिनाको सोनु धानुकको मृत्यु भएको छ, भने पुनर्वास नगरपालिका ५ रातोखालीकी १५ वर्षीया सिर्जना बोगटी र १५ वर्षीया लक्ष्मी बोगटीको आज दिउँसो घर नजिकै डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
बेल्डाँडी गाउँपालिका-३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदीको बाढीमा बगेर बेपत्ता भएका छन् भने पुनर्वास नगरपालिका ५ रातोखालीकी आरती बोगटीको अवस्था अज्ञात छ । कञ्चनपुरका नौवटै स्थानीय तह बाढी र डुबानबाट प्रभावित छन् । भीमदत्त नगरपालिका, दोधारा चाँदनी, वेदकोट र पुर्नबास नगरपालिका तथा बेल्डाँडी गाउँपालिका बाढीबाट बढी प्रभावित छन् । त्यसैगरी आइतबार मध्यरातमा पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भाँसी-दैजी खण्डको सुडा चोकमा बाढीले कल्भर्ट भत्काउँदा यातायात सेवा प्रभावित भएको छ भने अहिले वैकल्पिक सडक प्रयोग गरेर सवारीसाधन सञ्चालन भइरहेको छ ।