
पोखरा, जेठ ९ — राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन (जेठ ९–११) को ऐतिहासिक सन्दर्भमा, देशभरबाट आएका प्रतिनिधिहरूको उपस्थितिमा एकजना कर्मठ, संघर्षशील र संगठनप्रति निष्ठावान युवा नेता राजन थापा ले महासचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
पोखरामा आयोजित महाधिवेशनका अवसरमा थापाले भावनात्मक र प्रेरणादायी अभिव्यक्तिका साथ आफ्नो उम्मेदवारीको घोषणा गर्दै, विगतको लामो संगठानिक अनुभव, त्याग, बलिदान र संघर्षलाई आधार बनाएर युवाहरुको साझा नेतृत्व बन्ने अठोट व्यक्त गरेका छन्।
“म भुइँ मान्छे हुँ, मैले भुइँमान्छेका कथा पढेको छु, म एक युवा हुँ, युवाको सपना बुझेको छु,” – उनले बताए ।
२०६८ सालमा जाजरकोटबाट अखिलको राजनीतिमा प्रवेश गरेका थापा, २०६९ सालमा बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुँदै राष्ट्रिय राजनीतिमा स्थापित भएका थिए। त्यसयता उनी युवा संघको सचिवालय सदस्य, कोषाध्यक्ष, सचिव हुँदै हाल उपमहासचिवको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएका छन्।
थापाले भने, “मेरो परिवार र व्यक्तिगत सपनाहरूलाई पन्छ्याउँदै म समाजसेवामा समर्पित भएको छु। आज सम्पूर्ण युवाको भविष्य नै मेरो साझा भविष्य हो।”
उनले नेतृत्व निर्माणको वर्तमान अवसरलाई राष्ट्रिय आकांक्षासँग जोड्दै, “सुखी नेपाली, समृद्ध नेपाल” भन्ने राष्ट्रिय अभियानमा युवा आन्दोलनको गति मिलाउने संकल्प पनि व्यक्त गरे।
उनको उम्मेदवारीलाई देशका विभिन्न भागबाट आएका प्रतिनिधिहरू र सहकर्मीहरूले सकारात्मक रुपमा लिएको देखिन्छ। युवाहरूको मञ्चमा थापाको लामो संगठानिक यात्रा र जनताको जीवनबाट उठेको अनुभवले उहाँलाई एक सशक्त र समावेशी उम्मेदवारको रुपमा चित्रित गरेको छ।
अब महाधिवेशनको समापनसम्मको यो नेतृत्व चयन प्रक्रिया थप चासोको विषय बनेको छ। थापाले अन्त्यमा सम्पूर्ण प्रतिनिधिहरू समक्ष हार्दिक अनुरोध गर्दै भने,
“म तपाईंहरूको साझा उम्मेदवार बन्न चाहन्छु, म तपाईंहरूको साझा विचार बन्न चाहन्छु।”