भदौ ५, काठमाडौं, । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले लामो समयदेखि प्रतिक्षित विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले देशमा चौतर्फी निराशा छाएको बेला ऐन जारी गरेर सरकारले सकारात्मक सन्देश दिनुपर्ने बताउनुभयो ।
स्कुल फाउण्डेशन द्वारा आज बानेश्वरमा आयोजित शिक्षा ऐन विषयक विमर्श कार्यक्रममा बोल्दै नेता महरले संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षालाई व्यवहारमा कार्यान्वयन गर्नका लागि विद्यालय शिक्षा ऐनमा स्पष्ट खाका आउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले भन्नुभयो, “निशुल्क र गुणस्तरीय शिक्षाको कार्यान्वयन कसरी हुन्छ भन्ने कुरा विधालय शिक्षा ऐनमै प्रष्ट हुनुपर्छ, अन्यथा संविधानको व्यवस्था केवल कागजमा मात्र सिमित रहन्छ ।”
लामो समयदेखि ऐन संसदमा अड्किएर बस्दा शैक्षिक क्षेत्रमा अन्यौलता छाएको बताउँदै महरले सरोकारवालाको चासोलाई समेत ध्यानमा राख्दै ,विधेयक लाई तत्काल पारित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले शिक्षा जस्तो गम्भीर विषयमा राजनीति गर्न नहुने भन्दै सबै दलहरुलाई साझा धारणा बनाएर अघि बढ्न आग्रह गर्नुभयो ।
महरले अधिकारको मात्र खोजी गर्ने प्रवृत्तिले शिक्षा क्षेत्रमा समस्या निम्त्याएको तर्क गर्दै कर्तव्यबोध सहितको सुधार आवश्यक रहेको पनि औंल्याउनुभएको छ । उहाँले गुणस्तरीय शिक्षाका लागि शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत छुट्याउनुपर्ने आफ्नो पुरानो अडान दोहोर्याउनुभयो । साथै, शिक्षकहरूलाई निजामतीसरहको सेवा सुविधा, प्रधानाध्यापकको लागि छुट्टै व्यवस्था, र भौतिक पूर्वाधारमा राज्य गम्भीर बन्नुपर्ने उहाँको भनाइ छ ।

