काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारीसहित केन्द्रीय सदस्य चयनका लागि आज मतदान हुँदै छ । निर्वाचनमा ८७ पदका लागि एक सय ३५ उम्मेदवार उत्रिएका छन् ।
महासंघ विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष रहेका अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् । बाँकी चार उपाध्यक्षसहित ८७ पदका लागि निर्वाचन हुनेछ । साधारणसभाबाट निर्वाचित कार्यसमितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्नेछ । आज कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा निर्वाचन हुनेछ । साधारणसभाले जिल्ला नगरतर्फ दुई उपाध्यक्ष, वस्तुगततर्फ एक र एसोसिएटतर्फ एक गरी चार उपाध्यक्ष चयन गर्नेछ । त्यस्तै, जिल्लानगरतर्फबाट सदस्यमा ३१ जना, वस्तुगततर्फ १७ जना र एसोसिएटतर्फ १९ जना सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा छुट्टाछुट्टै प्यानल बनाएर दुई समूह प्रतिस्पर्धामा उत्रिएका छन् ।
कुल दुई हजार एक सय ५३ मतदाता रहेका छन् । जसमध्ये जिल्ला नगरतर्फ एक सय २९, वस्तुगततर्फ एक सय २४, द्विवराष्ट्रियतर्फ आठ र एसोसिएटतर्फ एक हजार आठ सय ९२ मतदाता रहेका छन् ।




