कैलाली । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को आयोजनामा सुदूरपश्चिम प्रदेशमा बालविवाह अन्त्यका लागि प्रदेशस्तरीय नीतिगत संवाद कार्यक्रम सम्पन्न भएको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा आयोजित उक्त कार्यक्रममा बालविवाह अन्त्यका लागि प्रदेश सरकार, स्थानीय तह तथा अन्य सरोकारवाला निकायबीच सहकार्य र समन्वय अभिवृद्धि गर्ने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता बाल अधिकारका लागि संसदीय मञ्चका संयोजक माननीय ललिता सुनारले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा सामाजिक विकासमन्त्री माननीय सन्तोष थापा (शर्मा) सहभागी हुनुभएको थियो । कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री माननीय इन्दिरा गिरी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री माननीय जानकी देवी कुँवर, आर्थिक मामिला राज्यमन्त्री माननीय जानकी ऐर बम, लेखा समितिका सभापति माननीय अक्कल बहादुर राना, विशेष अधिकार समितिका सभापति माननीय तुलसी देवकोटा तथा प्रदेशसभा सदस्यहरू माननीय मधु भारती, लक्ष्मी वि.क., गीता चौधरी, जुना दानी र खेमा विष्टको सहभागिता रहेको थियो ।
त्यसैगरी, राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका मानव अधिकार अधिकृत देवराज न्यौपाने, सामाजिक विकास मन्त्रालयकी महिला विकास अधिकृत प्रतिभा श्रेष्ठ, बाजुराका विभिन्न स्थानीय तहका प्रतिनिधि, विकास साझेदार संस्थाका प्रतिनिधि, किशोरकिशोरी, बाल अधिकार सञ्जाल, विभिन्न संघसंस्था, सञ्चारकर्मी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा विषय विज्ञका रूपमा केन्द्रीय बाल कल्याण समितिका पूर्व कार्यकारी निर्देशकले सुदूरपश्चिम प्रदेशमा बालबालिकाको वर्तमान अवस्था, बाजुरा जिल्लाका बडीमालिका नगरपालिका, बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका र गौमुल गाउँपालिकाको नीतिगत अवस्था, प्रदेशको जनसङ्ख्या, बालबालिकाका लागि विनियोजित बजेट, लक्षित कार्यक्रम, हालसम्म प्राप्त उपलब्धि तथा चुनौतीका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
प्रस्तुतीकरणमा समेटिएका तथ्य तथा अवस्थामाथि सहभागीहरूले आ–आफ्ना धारणा राख्दै बालबालिकाको क्षेत्रमा भइरहेका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । संवादका क्रममा सहभागीहरूले बालविवाह अन्त्यका लागि सरकार, निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यम र स्वयं बालबालिकाको भूमिका महत्त्वपूर्ण हुने धारणा राखेका थिए ।
बालविवाहलाई सामाजिक समस्याका रूपमा मात्रै नहेरी यसको अन्त्यका लागि नीतिगत व्यवस्था, प्रभावकारी कार्यान्वयन र समुदायस्तरबाटै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो । त्यसैगरी, बालविवाह न्यूनीकरणका लागि नीति निर्माण गर्नु मात्रै पर्याप्त नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयन, स्थानीय तहसम्म पहुँच विस्तार तथा सरोकारवाला निकायबीचको समन्वयलाई थप सुदृढ बनाउनुपर्ने विषयसमेत उठाइएको थियो । कार्यक्रमको सहजीकरण सिजपका अध्यक्ष तिलोत्तम पौडेलले गर्नुभएको थियो ।

