काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गर्ने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउने निक्षेप सुविधा पुनरावलोकन गर्ने भएको हो ।
बैंक तथा वित्तीय संस्थाको अनुरोधमा तरलता व्यवस्थापनका लागि सरकारी ऋणपत्रको धितोमा नेपाल राष्ट्र बैंकबाट निर्धारित अवधिसम्मका लागि प्रदान गरिने तरलता सुविधा नै स्थायी तरलता सुविधा हो । यो सुविधाले बैंक तथा वित्तीय संस्थाले जुनसुकै बेला ब्याज तिरेर राष्ट्र बैंकबाट ऋण लिन सक्छन् ।
अल्पकालीन तरलता व्यवस्थापनका लागि ग्राहक सुरक्षणपत्रको धितोमा केन्द्रीय बैंकले तोकिएका संस्थाहरूलाई यस्तो ऋण सुविधा दिँदै आएको छ ।
विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति यस बैंकको लक्ष्यअनुरूप नै रहने प्रक्षेपणको आधारमा न्यून आर्थिक वृद्धिको स्थितिलाई दृष्टिगत गरी चालु आर्थिक वर्षको सुरुदेखि नै लिइएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको पनि राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई भने यथावत् कायम गरिएको छ ।
