अन्तर्राष्ट्रिय जलवायु सम्मेलन कोप–३१ कुनै ठोस साझा सम्झौताबिना सम्पन्न भएको छ। जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा सदस्य राष्ट्रहरूबीच सहमति जुट्न नसकेपछि सम्मेलन निष्कर्षविहीन बनेको हो।
टर्कीको अन्ताल्यामा आयोजित सम्मेलनमा दुई साताभन्दा लामो छलफल भए पनि अन्तिम सम्झौतामा सहमति हुन सकेन। निर्धारित समयभन्दा दुई दिन ढिलोसम्म चलेको यो सम्मेलन संयुक्त राष्ट्रसंघीय जलवायु वार्ताको इतिहासमै सबैभन्दा लामो बनेको छ।
युरोपेली संघ (ईयू) र केही अन्य देशले कोइला, पेट्रोलियम र प्राकृतिक ग्यासजस्ता जीवाश्म इन्धनको प्रयोग क्रमशः घटाउँदै अन्त्य गर्ने स्पष्ट प्रतिबद्धता अन्तिम मस्यौदामा नरहेको भन्दै अस्वीकार गरे।
तर साउदी अरेबिया, रुसलगायत तेल उत्पादक राष्ट्रहरूले जीवाश्म इन्धनसम्बन्धी कडा प्रतिबद्धताको विरोध गरेका थिए। रुसले जीवाश्म इन्धनको आपूर्ति तीव्र रूपमा घटाउँदा ऊर्जा अभाव र मूल्यवृद्धि हुने तर्क गरेको थियो।
त्यस्तै, विकासशील तथा गरिब राष्ट्रहरूले जलवायु परिवर्तनका असरबाट जोगिन आवश्यक पर्ने आर्थिक सहयोगबारे धनी राष्ट्रहरूले स्पष्ट प्रतिबद्धता नजनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्मेलन सहमतिबिना टुंगिएकोमा गहिरो निराशा व्यक्त गरेका छन्।
अब के हुन्छ ?
मुख्य सम्झौतामा सहमति हुन नसके पनि स्वच्छ ऊर्जातर्फको न्यायपूर्ण संक्रमण र जलवायु अनुकूलनसम्बन्धी केही विषयमा प्रगति भएको छ। ८० भन्दा बढी देशले सन् २०३५ सम्म विश्वको कुल ऊर्जा खपतमा विद्युत्को हिस्सा ३५ प्रतिशत पुर्याउने टर्कीको लक्ष्यलाई समर्थन गरेका छन्।
अब जीवाश्म इन्धनको प्रयोग घटाउने, जलवायु वित्त र विकासशील राष्ट्रलाई आर्थिक सहयोग गर्ने विषयमा थप छलफल आगामी वर्ष इथियोपियामा हुने कोप–३२ सम्मेलनमा हुनेछ।
यस असफलताले जलवायु संकट समाधानका लागि विश्वव्यापी सहकार्य र संयुक्त राष्ट्रसंघीय वार्ता प्रक्रियामाथि नै प्रश्न उठाएको छ।

