काठमाडौं । कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि एन–ट्याग (N-Tag) को बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ ।
बैंकका अनुसार एन–ट्याग विद्युतीय टोल भुक्तानी प्रणाली हो । यस प्रणालीमार्फत सवारीधनीले टोल बुथमा नरोकिई नगदरहित रूपमा टोल शुल्क भुक्तानी गर्न सक्नेछन् । सवारीसाधनमा एन–ट्यागको स्टिकर टाँसेपछि टोल शुल्कबापतको रकम स्वतः कट्टा हुने व्यवस्था रहेको छ ।
यसले टोल बुथमा हुने भीडभाड तथा लामो लाइनको झन्झट कम गर्नुका साथै यात्राको समय बचत गर्न सहयोग पुग्ने बैंकले जनाएको छ ।
एन–ट्याग प्राप्त गर्न ग्राहकले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो र मोबाइल नम्बर लिएर नजिकैको कुमारी बैंक शाखामा जान सक्नेछन् । साथै, बैंकको वेबसाइटमार्फत एन–ट्यागसम्बन्धी थप जानकारी लिनुका साथै अनलाइन दर्ता प्रक्रिया पनि पूरा गर्न सकिनेछ ।
डिजिटल भुक्तानी तथा आधुनिक बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै बैंकले सवारीधनीलाई सहज र समय बचत हुने यात्राका लागि एन–ट्याग जडान गर्न आग्रह गरेको छ ।

