झापा । झापाको श्री बोलाचोक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको भाषण तथा उद्घोषण कला, व्यक्तित्व तथा नेतृत्व विकास, साथै माइनुट लेखन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। पाँच दिनसम्म चलेको यस तालिमबाट सहभागी प्रशिक्षार्थीहरूले बोल्ने र लेख्ने सीपमा उल्लेख्य सुधार आएको आयोजकले जनाएको छ।
समापन समारोहमा शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्राले सहकारीले महिलाको आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले वडा नम्बर चारभित्रका आदिवासी जनजाति तथा विभिन्न समुदायका महिला र बालबालिकाहरूलाई बोल्न सक्ने बनाउन सफल भएकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो।
“ग्रामीण भेगका महिलालाई बोल्ने कलाका साथै आयआर्जनमा सहयोग पुग्ने तालिम मेरो प्राथमिकतामा रहेको छ,” नगर प्रमुख थोप्राले भन्नुभयो, “तालिममा सिकेको ज्ञान अरूलाई पनि बाँड्नुपर्छ।”
उहाँले मुलुकको राजनीतिक, सामाजिक, आर्थिक लगायतका क्षेत्रमा महिलाको उपस्थिति कम रहेको उल्लेख गर्दै नेतृत्व विकास तालिमले महिलालाई नेतृत्व तहमा पुर्याउन सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। थोप्राले दक्ष जनशक्ति उत्पादनमा यस्ता तालिमहरूको आवश्यकता रहेको र आफूभित्रको निखारता बाहिर ल्याउन पनि प्रशिक्षणले ठूलो टेवा पुग्ने बताउनुभयो।
पछिल्लो समयमा सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि ठूलो टेवा पुर्याएको उहाँको भनाइ थियो। उहाँले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रहसमेत गर्नुभयो।
आत्मनिर्भर बनाउँदै दक्ष जनशक्ति उत्पादन गर्ने सहकारीको लक्ष्य
सहकारीका अध्यक्ष डा. धर्मेन्द्र कुमार शाहले यो तालिम महिला लक्षित कार्यक्रमअन्तर्गत आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार, महिलाहरूको सीपमा वृद्धि विकास गरी आत्मनिर्भर बनाउने र समाज तथा राष्ट्रको विकासका लागि योगदान गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उद्घोषण तथा नेतृत्व विकास तालिम आयोजना गरिएको हो। शाहले तालिममा उत्साहजनक सहभागिता जनाई कार्यक्रमलाई भव्य, सभ्य र परिणाममुखी बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो।
तालिमको सञ्चालन र मनोरञ्जनात्मक प्रस्तुति
पाँच दिनसम्म सञ्चालित यस तालिमलाई प्रशिक्षक लीला अनमोल र देवेन्द्र प्रसाईंले सहजीकरण गर्नुभएको थियो। समापन समारोहमा विभिन्न खेलहरू पनि खेलाइएको थियो, जसमा रञ्जित कुमार बेल्दार प्रथम, दिलीप ताजपुरिया द्वितीय र महेश्वर दुलाल तृतीय स्थान प्राप्त गर्न सफल हुनुभयो।
तालिमलाई थप आकर्षित बनाउन मित्र कर्मकार र देवन्ती राजवंशीले आ-आफ्नो नृत्य प्रस्तुत गरेका थिए भने प्रभा ताजपुरिया, सुमनलाल शाह, प्रशिक्षक लीला अनमोल लगायतले गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए। रेडियो विराटकी प्रबन्ध निर्देशक समेत रहेकी प्रशिक्षक लीला अनमोलले आफ्नो परिचय दिँदै आफूले लेखेको ‘अन्तिम कुमारी रात’ नामक पुस्तक मायाको चिनो स्वरूप उत्कृष्ट सहभागी तथा अतिथिहरूलाई प्रदान गर्नुभएको थियो।
आत्मविश्वास बढाएकोमा प्रशिक्षार्थीहरू उत्साहित
आयोजक संस्थाले प्रशिक्षकहरूलाई प्रशंसापत्रसहित मायाको चिनो, विशिष्ट अतिथि तथा अतिथिहरूलाई मायाको चिनो, र सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेको थियो। समापन समारोहमा बोल्दै प्रशिक्षार्थीहरूले तालिम अत्यन्तै उपलब्धिमूलक भएको बताएका छन्।
“तालिमअघि माइनुट तयार गर्न र अगाडि गएर बोल्न समस्या थियो, तर तालिमपश्चात् त्यो डर हटेको छ,” एक सहभागीले भनिन्, “आगामी दिनमा सजिलैसँग लेख्न र बोल्न सक्ने भएका छौं।”
कार्यक्रममा विशिष्ट व्यक्तिहरूको उपस्थिति
कार्यक्रममा झापा जिल्ला सहकारी सङ्घका सदस्य तिलक प्रसाद राजवंशी, वडा सदस्य सुमन लाफ सासू, समाजसेवी भक्तिप्रसाद सिटौला, कन्काई नहर जल उ. स. का अध्यक्ष कमल भण्डारी, त्रिभुवन मा. वि. का अध्यक्ष महेश्वर दुलाल, पाथीभरा आधारभूत विद्यालयका प्रधानाध्यापक दिलीप ताजपुरिया, स्वास्थ्यकर्मी पूर्ण कुमार शाह, रबिन, कमल मैनाली, रञ्जित कुमार वेल्दार, माला कुमारी ताजपुरिया, चन्द्र प्रसाद ताजपुरिया, बलराम ताजपुरिया लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।