काठमाडौं । गत हप्ताको तोडफोडका घटनाले एनसेलको काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा ठूलो क्षति पुगेको कम्पनीले जनाएको छ ।
यस घटनाले भौतिक सम्पत्तिमा मात्र नभई कर्मचारीहरूको सुरक्षामा र सेवाको निरन्तरतामा पनि गम्भीर जोखिम उत्पन्न गरेको एनसेलले पुष्टि गरेको छ । कम्पनीले भनेको छ, “यी चुनौतीहरूको बाबजुद एनसेल सधैंझैं आम जनतालाई दूरसञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित गर्न प्रतिबद्ध रह्यो ।”
संकटको समयमा सहज रुपमा सेवा उपलब्ध गराउनका लागि तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गराइएको पनि कम्पनीले जनाएको छ । २० वर्षदेखि नेपाली जनसमुदायलाई सेवा पुर्याउँदै आएको एनसेलले रोजगारी सिर्जना, आर्थिक वृद्धिमा योगदान र ‘डिजिटल नेपाल’ निर्माणको यात्रामा साथ दिँदै आएको उल्लेख गर्दै आफ्नो अटुट समर्पणलाई निरन्तरता दिने पुनः प्रतिबद्धता जनाएको छ ।
अन्तरिम सरकारको नेतृत्वमा नयाँ अध्याय सुरु भएको सन्दर्भमा एनसेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै, युवाको नेतृत्वमा भएको आन्दोलनले ल्याएको परिवर्तनलाई स्वागत गरेको छ । कम्पनीले परिवर्तनले सबै नेपालीका लागि एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने सामूहिक आशा व्यक्त गरेको छ । अन्त्यमा, आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना कम्पनीले प्रकट गरेको छ ।

