काठमाडौं । गीत–साहित्यप्रति गहिरो रुचि राख्ने र सांगीतिक क्षेत्रमा निरन्तर क्रियाशील सुष्मा महराले यस वर्षको तीजमा आफ्नो नयाँ सिर्जना ‘आयो तीज’ सार्वजनिक गरेकी छन् । राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको गीतलाई गायिकाद्वय समीक्षा अधिकारी र रचना रिमालले स्वर दिएका छन् । गीतमा पुरुषोत्तम न्यौपानेको संगीत र केशव बाबुको एरेञ्ज रहेको छ ।
सुष्मा महराले यस गीतका शब्द आफ्नै जीवनकथाबाट जन्मिएको बताउँदै, यसमा आफ्नो व्यक्तिगत अनुभव, भावनात्मक उतार–चढाव र तीजको सांस्कृतिक रौनकलाई मिसाएको प्रष्ट पारिन् । उनका अनुसार, ‘आयो तीज’ केवल मनोरञ्जनका लागि नभई, महिलाहरूको संवेदना र सम्बन्धको कथन हो । उनले दर्शक–श्रोताबाट माया र समर्थनको अपेक्षा गर्दै यस गीतले सबैको हृदय छुने विश्वास व्यक्त गरिन् ।
गीतको भिडियोमा स्वयं महरा र प्यारीको अभिनय रहेको छ । भिडियोको निर्देशन शक्ति प्रज्वल घिमिरे, छायांकन चक्रबहादुर बराल, सम्पादन सतीश श्रेष्ठ र कोरियोग्राफी रोहिया महर्जनले गरेका छन् । म्युजिक नेपालको अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।
संगीतकार न्यौपानेले महराको मौलिक शब्दलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको बताए । निर्देशक घिमिरेका अनुसार, भिडियोमा नेपाली कला, संस्कृति र परम्पराको झल्को दिने विशेष ध्यान दिइएको छ ।
हेर्नुहाेस् भिडियाेमा:
