फागुन १३, काठमाडौं । आईसीसी विश्वकप लिग लिग टूमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । आईतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको हो । बिक्रमजीत सिंहको शानदार अर्धशतकमा नेदरल्याण्ड्सले नेपाललाई पराजित गरेको हो । पहिलो विकेटका लागि मेक्स ओडाँड र माइकल लेविटले ६१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । मेक्सले २८ र माइकलले ३९ रनको योगदान गरे । यसअघि, सुरुवाती ब्याटिङ्ग गरेको नेपाल ३ बल बाँकी छदै १ सय ७२ रनमा समेटिएको थियो ।
नेपालको इनिङ्समा कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए । नेपालले ९४ रन जोड्नै सुरुवाती ६ विकेट गुमाईसकेको थियो । कुशल भुर्तेलले ६६ रन बनाएको इनिङ्समा आसिफ शेखले १७ रन जोडे । अनिल साह ७, कुशल मल्ल २, रोहित पौडेल १६, दिपेन्द्र सिंह ऐरी १ र भिम सार्की शुन्य रनमा पोविलियन फर्किए । आरिफ शेखले २२ रन जोड्दा करन केसीले २६ रन बनाए । गुलसन झा ५ रनमा आउट भएका थिए । नेदरल्याण्ड्सका विवियन किग्मा र आर्यन दत्तले समान तीन तीन विकेट लिए । बास डी लिडेले दुई विकेट लिदाँ रुलोफ वान डेरले एक विकेट झारेका थिए । नेपाल भ्रमणमा आएका नामिबिया र नेदरल्याण्ड्ससँग घरेलु टोलीले मात्र २ अंक जोड्न सफल भएको छ ।
नेपाल पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो । तेस्रो खेलमा नामिबियासँग २ विकेटले पराजित बनेको नेपाल चौथों खेलको नतिजा भने नेदरल्याण्ड्सलाई सुम्पिन पुगेको छ ।